सगरमाथा संवादका लागि परामर्श गोष्ठी

-


     मर्दी न्युज    
     मंसिर २५ गते २०७६ मा प्रकाशित


P S Gurung

पोखरा । जलवायु परिर्वतनको प्रभावले पार्ने असर ज्यादै डरलाग्दो हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । मंगलबार पोखरामा आयोजित सगरमाथा संवादको लागि ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवजातिको भविष्य’ विषयक परामर्श गोष्ठीमा सो कुरा बताएको हो ।

फोटोहरुः गंगा घले

जलवायु परिवर्तनमा नेपालले कदम चाल्न ढिलो भइसकेको बताउँदै उनले भने– प्रदेश सरकारले केही कदम चाले पनि यो पर्याप्त छैन ।’ जलवायु परिवर्तनको प्रभावले हिमाली भेगलाई बढी असर गरेको उनले बताए । ‘दशक अगाडि डाँडाकाँडामा देखिने हिउँ अहिले देखिन छाडेको छ’– उनले भने– ‘हिमाली पहिरो, खानेपानीको मुहान सुक्दै जानु यसको असर हो ।’

प्रत्यक्ष जनतासँग लाभान्वित हुने नीति निर्माण नगरिए भविष्यमा मानव अस्तित्व खतरा हुने मुख्यमन्त्री गुरुङले बताए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. केशवराज गौतमले जलवायु परिवर्तन मानव सिर्जित समस्या भएको बताए । सगरमाथा संवादको लागि जलवायु परिवर्तन विषयक कार्यपत्र प्रस्तुत गर्दै १ डिग्री तापक्रम बढ्दा हिउँरेखा २ सय मिटर माथि सर्ने बताए । जलवायु परिवर्तनको असरमा नेपाल चौथो संवेदनशील देशमा रहेको उनले बताए ।

सन् १९९२ देखि विकसित राष्ट्रहरुले जलवायु परिवर्तनसम्बन्धी काम गर्दै आएरहेको भएता पनि नेपालले ठोस काम नगरेको बताए ।

नेपाल माउण्टेन लिडर एसोशियसनका सदस्य एवम् वरिष्ठ हिमाली पर्यटक गाइड शेषकान्त शर्माले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा लाग्नेहरुको रोजीरोटी खोस्ने अवस्थामा पुगेको बताए । अक्टोबर महिनामा डोल्पोदेखि मुस्ताङसम्म पदयात्रा गर्दा अधिकांश दिन पानी परेर पदयात्रा गर्न कठिन भएको बताउँदै विगत र अहिलेको हिमालको अवस्था प्रस्तुत गरेका थिए । पिसाङ पिकमा अहिले हिउँ नभएकैले त्यसलाई अब हिमाल भन्ने कि के भन्ने उनले प्रतिप्रश्न गरे ।

शर्माले विकासको नाममा जथाभावी खोलेको मोटरबाटो र त्यसले निम्त्याएको असरबारेमा प्रष्ट्याएका थिए । अहिले अधिकांश पदमार्गमा मोटरबाटो देख्न सकिने यथार्थ प्रस्तुत गरेका थिए ।
नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. गणेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका राजेश श्रेष्ठ, पर्यटनविद् लक्ष्मी गुरुङ, सगरमाथा संवादका तर्फबाट किरण चापागाईं, गुल्मीबाट शेषनारायण पौडेल, गेहेन्द्र गुरुङलगायतका वक्ताहरुले सहजीकरण गर्नुभएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।