धनुषामा बम विस्फोट हुँदा २ को मृत्यु, ६ सुरक्षाकर्मी घाइते

-


     मर्दी न्युज    
     मंसिर २८ गते २०७६ मा प्रकाशित


Dhanusa - Bomb

धनुषा । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
शुक्रबार मध्यरातमा धनुषाको क्षीरेश्वर नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम विस्फोटमा घरधनी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ ।
स्थानीयवासीले दिएको जानकारी अनुसार स्थानीयस्तरमा निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखा परेको थियो । उनले नजिकको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीलाई सूचना दिएका थिए । सूचना पाएलगतै सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए ।

सुरक्षाकर्मीहरु निजको घर पुग्दा शंकास्पद वस्तु विस्फोट भई बाबु–छोराको मृत्यु भएको थियो । कम्तीमा ६ सुरक्षाकर्मी घाइते भएका थिए । घाइते सुरक्षाकर्मीहरुलाई उपचारका लागि राति नै धरान लगिएको थियो । प्राप्त जानकारीअनुसार महेन्द्रनगर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमीरकुमार दाहालको अवस्था चिन्ताजनक छ । प्रहरी उच्च पदाधिकारीहरु घटनास्थलर्फ खटिएका छन् ।