
पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले च्यु ल्होसारको विविध कार्यक्रम अन्तर्गत भोलि शनिबार शुभकामना आदानप्रदान, चियापान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रकै फलिना क्होइबो परिसरमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा रक्तदान एवम् शुभकामना आदानप्रदान गर्न लागेको हो ।

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आव्हानमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
त्यसै गरी च्यु ल्होसारको विविध कार्यक्रम अन्तरगत १३ गते रस्साकसी र छेलो प्रतियोगिता, १४ गते अन्तरसमाज सामुहिक नृत्य प्रतियोगिता, म्युजिकल चियर र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

च्यु ल्होसार कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव हर्कबहादुर योज तमुले बताए ।

१५ गते बिहान छ्योप त्हें, थासों त्हें, छैखु–ह्योंखु गरी रुपा लगाउने, स्यों कैं खुवाउने र मध्यान्न १२ बजेदेखि खुल्ला तमु सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
ल्होसार सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवार बाँडफाँड गरिएको पनि उहाँले बताउनुभयो ।
