पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण हुन्छः मन्त्री भट्टराई

-


     मर्दी न्युज    
     १२ पुस २०७६ मा प्रकाशित


Mardi News

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल निर्माणको लागि थप जग्गा आवश्यक परेकोले जग्गा अधिग्रहण गरिने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले थप १ सय ४ रोपनी जग्गा आवश्यक परेको र उक्त जग्गालाई स्थानीयको चित्त बुझ्ने गरी प्रचलित मूल्य दिएर अधिग्रहण गरिने बताएका हुन् ।
तेश्रो पटक थप जग्गा अधिग्रहण गर्दा १२ वटा घरहरु पर्ने भएकोले उक्त घरको समेत उचित मुल्य दिएर घरलाई समेत अधिग्रहण गर्ने मन्त्री भट्टराईले बताए । गाइड पाथ, एप्रोन लाइट, मेट्रोलोजिकल स्टेशन, मुख्य रुपमा हवाई उडान र अवतरण (नेभिगेसन) को लागि उक्त जग्गा आवश्यक भएको मन्त्री भट्टराईले जनाए । उनले भने ‘विमानस्थल निर्माणको लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहण हामीले प्रचलित मूल्यमा गछौं, यहाँ सरोकारवाला सहितको समिति बन्छ, जग्गा तथा घरको मूल्य निर्धारण गर्छ, एक्दमै नोक्सान हुने ढंगले हामी अधिग्रहण गर्दैनौं ।’

पोखरा विमानस्थल निर्माणको क्रममा पटक पटक जनतालाई त्रसित पार्ने गरी जग्गा अधिग्रहण भयो कि भन्ने पत्रकारको प्रश्नमा मन्त्री भट्टराईले विदेशमा पनि ठूला आयोजना संचालन गर्दा अधिग्रहण गर्दै नयाँ प्रविधिको कारण विमानस्थलमा केही न केही नयाँ संरचना बन्दै जाने भएकोले यो क्रम चलिरहेको उदाहरण दिंदै उनले अहिलेको आवश्यकताको आधारमा १ सय ४ रोपनी मात्र अधिग्रहण गर्नु परेको बताएका हुन् । थप जग्गा आवश्यक पर्छ पर्दैन भन्ने पत्रकारको प्रश्नमा भने मन्त्रीले यो विषयमा आफूले केही भन्न नसक्ने प्रतिकृया दिदै भने— ‘म विज्ञ होइन, पछि जग्गा आवश्यक पर्नपनि सक्छ नपर्न पनि सक्छ, यदि जग्गा अधिग्रहण गर्नु परेमा ठृुला आयोजनाको लागि राज्यले उनीहरुलाई चिक्त बुझाएरै अधिग्रहण गर्छ ।’

२०७१ सालमा ६ सय २९ रोपनी जग्गा अधिग्रहण गर्ने निर्ण हुँदा २०७३ सालमा आएर ५ सय २० रोपनी जग्गा अधिग्रहण गरिएको बताए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य ५२ प्रतिशत सम्पन्न भएको र योजना ६ महिना अगावै सम्पन्न हुने पनि मन्त्री भट्टराई बताए ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल हाललाई २१ घण्टा सञ्चालनमा आएको बताए । नेपाल भ्रमण वर्षलाई सफल पार्न हवाई उडानलाई विशेष महत्व दिएको पनि मन्त्री भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा बताए । अघिल्लो वर्षको तुलानमा यस वर्ष पर्यटकको आगमनमा केही गिरावट आएको पनि मन्त्री भट्टराईले बताए । उनले भने — ‘हवाई मार्ग पुनः मर्मत गर्नु परेकोले अघिल्लो वर्षको तुलानमा यस वर्ष पर्यटक आगमनमा केही गिरावट आएको हो ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।