
तालतलैया र सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको वास्तविक अवस्था , हिउँदे आगन्तुक चराका संख्या र प्रजातीका विवरण पत्ता लगाउन, संख्याको अध्यावधीक जलपंछीहरुको अनुगमन र गणना गरिने भएको छ ।

सिमसारमा आश्रित रैथाने र आगन्तुक चरा संरक्षणमा स्थानिय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्न हातेमालोका लागि हरेक वर्ष जल पन्छीहरुको अनुगमन र गणना गर्ने गरीन्छ । प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्ताको बिचमा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र पंछी संरक्षण संघहरुको प्रत्यक्ष सहभागिता हुने गर्दछ ।
यस वर्ष पनि जनवरी ४ देखि १९ अथवा पौष १९ देखी माघ ५ सम्म नेपालका विभिन्न ताल तलैया र नदीका भागहरुमा जल पन्छीहरुको गणना गरीदै छ । “यस समयावधीमा आफुलाई पायक पर्ने ठाउमा हुने जल पन्छी गणना कार्यक्रममा सहभागि हुन ईच्छुक सवैलाई आव्हान गरेका छौं” (नेपाल पंछी संरक्षण संघका संरक्षण अधिकृत कृष्ण भुसालले बताउनु भयो । भुसालका अनुसार, स्वयं आफैले पनि आफ्नो वरपरका सम्भावित क्षेत्रमा नेतृत्व गरी जल पन्छी गणना गर्न सक्नुहुनेछ, मुलत कुनै खास स्थान अथवा दुरीमा आफुले देखेका पानी चराका प्रजाती, तिनको सख्या, संकट र बासस्थानमा देखीएका समस्या जस्ता जानकारीहरु अभिलेख राखेर संरक्षण सँग सम्बन्धित कार्यलयमा उपलव्ध गराउनु पर्ने हुन्छ । “सन् १८८७ मा साउथ एसियन वाटर्रफल सेन्ससको स्थापना सँगसँगै नेपालमा पानी चरा गणना गर्न शुरु गरेका थियौं” – बरिष्ठ पंक्षीबिद तथा जुलोजिकल सोसाइटी अफ लण्डन, नेपालका प्रतिनिधी डा. हेमसागर बराल ले बताउनुभयो ।

“सन् १९९८ मा टाइगर माउण्टेन पोखरा लजको स्थापना र बरिष्ठ संरक्षणबिद मार्कस कटनको अगुवाइमा तथा सन् २०१२ यता पर्यटन आबद्द गाईडहरु, वन बिज्ञान अध्ययन संस्थानका बिद्यार्थीहरु, संरक्षणकर्मीहरु, नेपाल पंछी संरक्षण संघ(पोखरा शाखा र सन् २०१५ पछि पोखरा पंछी समाजको सहकार्यमा पोखराका ९ ताल र विजयपुर खोलाका पानीचराको अभिलेख राख्न थालिएको हो” (पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार, नेपालमा अभिलेख गरिएका करिब २०० प्रजातिका पानीचरा मध्ये ९८ प्रजाति पोखरा उपत्यकामा अभिलेख गरिएको छ । जसमध्ये विश्वमै दुर्लभ र संरक्षित पंछीहरु पनि रहेका छन् ।

“हिउँद यामको सुरुवात सँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भु-भाग तथा ताल-तलैया र नदी आसपासमा बसाई सरी आउने पर्यटक चराहरुको विविधता र सयौको संख्यामा झुन्डहरु देखीन थाल्दछन । खासगरी उत्तरीध्रुवमा हिमपातको सुरुवातसँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा वर्षेनी करीव १ सय ५० प्रजाती भन्दा बढी चराहरु उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने गर्दछन । यसैगरी करीव ५० प्रजातीका वटुवा चराहरु नेपालको बाटो हुदै दक्षिणाी मुलुक भारत, पाकिस्तान र श्रीलङ्का तिर जाने गर्दछन । यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक पानी चराहरु सिमसार क्षेत्रहरुमा नै आफ्नो समय व्यतीत गर्दछन” – नेपाल पंछी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङले थप्नुभयो । यि पाहुना चराहरुको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थल हाम्रा सिमसारहरुको दिगो संरक्षण तथा व्यवस्थापनमा सहयोगी वन्न नेपाल पंछी संरक्षण संघले सवैलाई आग्रह गरेकोछ ।

विश्वमै लोपोन्मुख र अन्त कतै नपाईने चराहरु नेपालमा अवलोकन गर्न विभिन्न देश हरु वाट हजारौं चराप्रेमी पर्यटक हरु आउने गरेका छन् ।