आजबाट च्यु ल्हो सुरु

-


     मर्दी न्युज    
     पुस १५ गते २०७६ मा प्रकाशित


Mardi News

मुख्यमन्त्री गुरुङले दिए शुभकामना

पोखरा, १५ पुस । १४ गते राती १२ बजे तमु समुदायको नयाँ वर्गचक्र फेरिएको छ । आज १५ गते मंगलबार देशभर तमु समुदायले गाउँदेखि शहरसम्म विभिन्न संघसंस्था तथा समाजमा ल्होसार मनाइरहेका छन् ।
पुस १५ तमु समुदायले विशेष पर्वको रुपमा ल्होसार मनाउँछन् । सांस्कृतिक पर्व ल्होसार पछिल्लो समय पहिचानको पर्व बनेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको साँस्कृतिक पर्व ल्होसारको अवसरमा शुभकामना दिएको छ ।
उक्त सन्देशमा भनिएको छ– ‘साँस्कृतिक परम्पराका धनी नेपालका तमु (गुरुङ) समुदायले सदियौंदेखि आप्mनो रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै आइरहेको सन्दर्भमा तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने विश्वास लिएको छु ।’
त्यसैगरी शुभकामना सन्देशमा अगाडि भनिएको छ– ‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यासहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धी हुन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएका छन् ।’ मुख्यमन्त्री गुरुङले तमु ल्होसार पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावनालाई बढाई शान्त समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।


यसै सन्दर्भमा च्यु ल्होसारको उपलक्ष्यमा तमु प्ये ल्हु संघले गएराती फो ल्होसारको विदाई गर्दै च्यु ल्होसारको स्वागत गरेको छ ।
संघको परिसरमा राती १२ बजे वोन फायर गरी च्यु ल्होसारलाई स्वागत गरेको छ । ल्होसारको अवसरमा आज बिहानैदेखि तमु प्ये ल्हु संघमा छ्योप तथा थासो त्हें शुरु भइसकेको छ । बिहान ८ बजेदेखि रुपा लगाउने कार्यक्रम रहेको संघका महासचिव हर्कबहादुर गुरुङले बताए ।
बिहान ११ बजेदेखि सामुहिक साँस्कृति कार्यक्रमसहित पुरस्कार वितरण गरिने कार्यक्रम रहेको उनले बताए ।
त्यसैगरी तमु धीं नेपाल, तमु ह्युल छोंज धींलगायतले संयुक्त ल्होसार कार्यक्रम लेखनाथमा झाँकीसहित च्यु ल्होसार÷ल्होछार कार्यक्रमको आयोजना गरेको छ ।
गुरुङ जातिको १२ वटा वर्गचक्रमध्ये यस वर्ष पुस १५ गतेदेखि च्यु ल्होसारको सुरुवात भएको छ । वर्ग फेरिएको अवसरमा गाउँदेखि शहरसम्म औपचारिक कार्यक्रम गरी बिहानैदि एकआपसमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भावको शुभकामना आदनप्रदान गरिरहेको छ ।