काठमाडौं, २० मंसिर । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमु ल्होसारमा दिंदै आएको सार्वजनिक विदा यथावत् राख्न माग गरेको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाउँदै परिषद्ले तमु ल्होसार (पुस १५), उधौली–उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, माघे सक्रान्तिलगायत अन्य आदिवासी जनजाति समुदायको चाडपर्वमा खारेजी भएको सार्वजनिक विदा यथाशीघ्र पुनस्र्थापित गर्न माग गरेको छ ।
माग सम्बोधन नभएमा लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै आन्दोलन गर्न बाध्य हुने र उत्पन्न परिस्थितिको स्वयम् सरकार जिम्मेवार हुने परिषद्का अध्यक्ष रेशम गुरुङद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा भनिएको छ— ‘वर्तमान सरकारको गठन पश्चात अन्तरिम सरकारले आदिवासी जनजाति समुदायका चाडपर्वमा दिंदै आएको पाँच दिन सार्वजनिक विदालाई खारेज गरी एउटै सामाजिक र धार्मिक समुदायको चाडपर्वमा मात्रै सार्वजनिक विदा दिने प्रथाको विकास गर्दै गर्दा गणतन्त्र नै खोसिएको त होइन भन्ने प्रश्न चिन्ह हाम्रो अन्तरआत्मामा उठेको छ ।’ अगाडि भनिएको छ– ‘ यस किसिमको अनुभूतिले वर्तमान सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारालाई कदापी सहयोग हुँदैन ।
गतवर्ष गण्डकी प्रदेश सरकारले तमु ल्होसारलाई सार्वजनिक विदा दिएपनि त्यो लागू हुन सकेन ।
ज्ञापनपत्र बुझेपछि गृहमन्त्री रामबहादुर थापाले आफूले सकभर सबै जातजातिका चाडपर्वमा विदा दिने प्रयास गर्ने प्रतिबद्धता जनाएको छ ।