पर्यटकको पर्खाइमा सिङ्दी

-


     मर्दी न्युज    
     २२ मंसिर २०७६ मा प्रकाशित


Singdi Village

पोखरा । ढुङ्गै ढुङ्गाले उठाएको साना–साना गराहरु, त्यसमा लगाइएको बालीनाली, सुन्दर दृश्य । अधिकांश ढुङ्गाले नै छाएका घर । गुजुमुज्ज परेको तर भिरालो ठाउँको बस्ती । २ सय ५४ घरधुरी । कास्की जिल्लाको सिमानामा पर्ने, उत्तर पश्चिम लमजुङ जिल्लाको विकट गाउँ हो ‘सिङ्दी’ ।

Singdi
फोटोहरुः खड्ग गुरुङ तथा पदम घले

‘सिङ्दी’ गाउँ क्होलासोँथर गाउँपालिका अन्तगर्त पर्दछ । गाउँनै गाउँले भरिएको सुन्दर देश हो नेपाल । यहाँको हिमश्रृङ्खला, झर्ना, खोला– नाला, पहाड आदि मिलेर बनेको सुन्दर देश हाम्रो जहाँ गएपनि उत्तिकै मनमोहक छ । त्यसैले नै विश्वमा नेपाल पर्यटकीय रुपले प्रसिद्ध बनेको छ ।

तर प्रचारप्रसारका अभावमा ती सुन्दर वस्ती, आत्मीयता, मौलिक रहनसहन भएता पनि ओझेलमा परिरहेको छ । ती ओझेलमा पर्ने गाउँहरुमध्ये सिङ्दी पनि एक हो । अहिले पोखरासँग सिङ्दी गाउँ मोटरबाटोले जोडेको छ । पोखराबाट विजयपुर कालिका हुँदै करिब ५ घण्टाको यात्रा पछि पुगिन्छ सिङ्दी गाउँ ।

Singdi

आफ्नो गाउँका कला, संस्कृति र स्थानीय खानपानको स्वाद चखाउन होमस्टेको सुरुवात गरिसकेको छ । स्थानीय युवा क्लबका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार गाउँमा २५ घरमा होमस्टे सुविधा छ । यो सुविधालाई विस्तार गर्दै लैजाने क्रममा छ ।

Dance

गाउँमा घाँटुका अलावा कृष्णचरित्र, सोरठीसहितका कला संस्कृति जीवित रहेको स्थानीय अगुवा तथा समाजसेवी वाशुदेव गुरुङले सुनाए । गाउँबाट पोखरा लगायत सहर बसाईं गरेता पनि सिङ्दी गाउँमा भने घरधुरी संख्या घटेका छैनन् । बरु वार्षिक ३÷४ घर थपिने गरेको स्थानीयले बताए ।

Village

यहाँको प्रमुख पेशा कृषि नै रहेतापनि यसका अलावा परम्परागत लाहुरे पेशा पनि हो । केहीले नेपालमै पढेर स्वदेशमै जागिर तथा निजी काम गरी बसेका छन् भने यहाँको सामाजिक पूर्वधार विकासमा माध्यामिक तहको विद्यालय, खानेपानी शौचालय सबै व्यवस्थित भैसकेको छ ।