
बाढी–पहिरोबाट अवरुद्ध नेपाल–चीन सीमाको केरुङ नाका जोड्ने चीनतर्फको जी–२१६ राष्ट्रिय राजमार्ग करिब एक सातामै पुन: सञ्चालनमा आएको छ।
अगस्ट २६ को विनाशकारी विपद्ले चीनको तिब्बतस्थित केरुङ नाकातर्फ जाने सडकमा गम्भीर क्षति पुर्याएपछि स्थलमार्ग अवरुद्ध भएको थियो। चिनियाँ उद्धार तथा मर्मत टोलीले क्षतिग्रस्त खण्डमा आपत्कालीन रूपमा सडक सम्पर्क पुन:स्थापित गरी सेप्टेम्बर २ देखि आवागमन खुलाएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जी–२१६ केरुङ नाकातर्फ पुग्ने मुख्य स्थलमार्ग हो। सडक खुलेसँगै ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण विपद्को मुख्य प्रभावित क्षेत्रमा पुर्याउन थालिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार क्षतिग्रस्त सडक खुलाउन विभिन्न स्थानमा भग्नावशेष हटाउनुका साथै आपत्कालीन मार्ग तयार गरिएको थियो। सडकको स्थायी पुनर्निर्माण सम्पन्न भएको नभई तत्काल उद्धार तथा आवागमन सहज बनाउने गरी सडक सम्पर्क पुन:स्थापित गरिएको हो।
चिनियाँ सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै सडक खोल्ने काममा करिब ७०० जनशक्ति परिचालन गरिएको जनाएका छन्। सेप्टेम्बर १ सम्म केरुङ नाकातर्फ करिब ७०० मिटर अवरुद्ध खण्ड बाँकी रहेकोमा त्यसको भोलिपल्ट सडक सम्पर्क पुन:स्थापित गरिएको हो।
सडक सञ्चालनमा आएसँगै यसअघि पहुँच कठिन रहेको प्रभावित क्षेत्रमा भारी उपकरण, उद्धारकर्मी तथा आवश्यक सामग्री पुर्याउन सहज भएको छ। चीनतर्फ खोज तथा उद्धार कार्य भने जारी छ।

