मन्त्रिपरिषद् बैठकका १४ निर्णय

-


     मर्दी न्युज    
     १७ पुस २०७६ मा प्रकाशित


Mardi News

काठमाडौँ, १७ पुस । सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले गरेका निर्णयहरुः
१.ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा टोखा नगरपालिका वडा ४ काठमाडौं निवासी नरेशराज अर्याललाई आगामी पाँच वर्षका लागि पुनः नियुक्त गर्ने निर्णय गरिएको छ ।
२.जलविद्युतसँग सम्बन्धित आयोजना तथा कम्पनीबाट अनुरोध भई आएका ९ वटा जलविद्युत आयोजनाका लागि जग्गा प्राप्ति ऐन २०३४ को दफा ३ र ४ बमोजिम जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही गर्ने अधिकार तोक्ने निर्णय गरिएको छ ।
३.गैरकानुनी रूपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका ४ जना इजिप्टका नागरिकहरूको भिसा दस्तुर तथा विलम्ब शुल्क ४६४० अमेरिकी डलर र अधिकतम जरिवाना दुई लाख रुपैयाँसमेत मिनाहा गरी निजहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।
४.राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम जगत बहादुर कार्की लगायत १३ जना व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी आर्थिक सहातयता÷क्षतिपूर्तिवापत १२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।
५.चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी– महाराजगञ्ज– धोवीखोला खण्डको सडक सीमा ३१÷३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरिएको छ ।
६.२०७६ माघ २२ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको उत्तर प्रदेशस्थित लखनउमा आयोजना हुने ११ औं एडिसन अफ डेफएक्स्पो इण्डिया २०२० मा सहभागी हुन उपरथी रघु भण्डारी र सहसचिव यज्ञप्रसाद भट्टराईलाई स्वीकृत दिने निर्णय गरिएको छ ।
७. मन्त्रिपरिषद्को मिति २०७० साउन २४ गते बैठकबाट नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९.२७ हेक्टर वन क्षेत्र ३५ वर्षसम्मका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएकोमा मन्त्रिपरिषद्को मिति २०७४ पुस २८ गतेको निर्णयअनुसार मालपोत कार्यालय रसुवाबाट उक्त वन क्षेत्रमध्ये ११० रोपनी जग्गा मिति २०७४ चैत ३० गते स्वयम्भू पुरानो घ्याङ गुठीको नाममा दर्ता कायम भएकोमा वन ऐन २०७६ को दफा ७ को उपदफा (२) बमोजिम सो जग्गा दर्ता स्वतः बदर हुने भएकोले सो दर्ता बदर गरी राष्ट्रिय वन क्षेत्र कायम गर्ने र मन्त्रिपरिषदको मिति २०७० साउन २४ गतेको निर्णयअनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई प्रयोग गर्न दिएको ७९.२७ हेक्टर जग्गा सो कम्पनीलाई पूर्ववत रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।
८.साँस्कृतिक संस्थानको अध्यक्ष पदमा साविक साब्ला तम्फुला गाविस ४ हाल म्याङलुङ नगरपलिका १० तेह्रथुम निवासी प्रेमनाथ अधिकारीलाई र साँस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा सिदिङ्वा गाउँपालिका वडा ६ ताप्लेजुङ निवासी अशोककुमार राईलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।
९.उपभोक्ता संरक्षण नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
१०.प्रदेश तथा स्थानीय तहमा अन्तर्रा्ष्ट्रिय विकास सहायता परिचालन मापदण्ड २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ ।
११. एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत गरिएको छ ।
१२.एकीकृत कानुनी सहायता नीति २०७६ स्वीकृति गरिएको छ ।
१३.स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्य्विधि २०७६ स्वीकृत गरिएको छ ।
१४.राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्य्विधि २०७६, स्वीकृत गरिएको छ ।