हिमाली जिल्लामा भारी हिमपात, जनजीवन कष्टकर

-


     मर्दी न्युज    
     पुस १८ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १८ पुस । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

सुदुरपश्चिम प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ ।

हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित पारेको छ ।

त्यसैगरी गण्डकी प्रदेशका हिमाली जिल्लामा अहिले भारी हिमपात भइरहेको खबर प्राप्त भएको छ । हिमाली जिल्ला मुस्ताङमा पुनः हिमपात भएको र जनजीवन कष्टकर बन्दै गएको त्यहाँका होटल व्यवसायी सुष्मा घलेले बताए ।
त्यसैगरी माथिल्लो मनाङमा पनि हिमपात भइरहेको स्थानीय थम गुरुङले बताए । गण्डकी प्रदेशका राजधानी पोखरामा अहिले वर्षा भइरहेको छ ।