जनताको सेवा गर्न राजनीतिमा – श्रेष्ठ

-


     मर्दी न्युज    
     २० पुस २०७६ मा प्रकाशित


Mardi News

फोटोः एमबी आस्था

पोखरा, २० पुस । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसदमा रहेर भूमिका खेल्न दुई अध्यक्षले आग्रह गरेपछि आफूले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन् ।

राष्ट्रिय सभाकालागि गण्डकी प्रदेशबाट मनोनयन दर्ता पश्चात नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आइतबार प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उम्मेदवारी दर्ता पछि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले भने – ‘पार्टीका दुई अध्यक्षले उम्मेदवारी दर्ता समयको एक÷दुई दिन अघि मात्र उम्मेदवारी दर्ता गर्न आग्रह गरेपछि उम्मेदवार बनेको हुँ, निर्वाचन जितेपछि पार्टीले जुन ठाँउमा बसेर काम गर्न निर्देशन दिन्छ त्यही स्थानमा बसेर काम गर्न तयार छु ।’
सरकारले आर्थिक क्रान्तिलाई तीब्रताका साथ अगाडि बढाइरहेको अवस्थामा सरकारको लक्ष्य आर्थिक सम्मृद्धि भएकाले त्यसतर्फ तीनै तहको सरकार सक्रिय भएर लाग्नु पर्ने बताए । ‘निरङ्कुश जहानीयाँ शासन र राजतन्त्र फालेर गणतन्त्र ल्यायौं अब सरकार समाजवादतर्फ अगाडि बढ्दै जनताका चाहना पुरा गर्छ’– नेता श्रेष्ठले भने– ‘जनताको सेवा गर्न राजनीतिमा आएका हौ, जनताको सेवा गर्न पदमा बस्नु पर्छ भन्ने छैन, बाहिर बसेर पनि गर्न सकिन्छ ।’

श्रेष्ठले पत्रकार भेटघाटमा नेकपाको सरकारले प्रतिवद्धता गरेको सांगठनिक एकीकरण लगभग पुरा भैसकेको र बाँकी काम एक हप्ताभित्र सम्पन्न गरि सक्रिय बनाउने बताएका छन् ।

यस अघि जिल्ला निर्वाचन कार्यालय कास्कीमा नेकपाको तर्फबाट राष्ट्रिय सभा सदस्यकाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले मनोनयन दर्ता गरेका थिए ।

उम्मेदवारी दर्तामा श्रेष्ठको प्रस्तावकमा रामशरण बस्नेत र समर्थकमा दिलमाया रोका छन् भने न्यौपानेको प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ छन् ।

त्यसैगरी नेपाली काँग्रेसबाट सूर्यराज रेग्मी र विमला गौचनले राष्ट्रिय सभा सदस्य पदको लागि निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेदवार दिएका छन् ।