‘कलाको जननी लोककला’– कुलपति कर्माचार्य

-


     मर्दी न्युज    
     पुस २१ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २१ पुस । नेपालका विभिन्न लोककलासँग सम्बन्धित चित्रहरूको पाँच दिवसीय कार्याशाला पोखरामा सम्पन्न भएको छ । सोमबार पोखराको हिलप्वान्ट बोर्डिङस्थित सभाहलमा भएको समापन समारोहका प्रमुख अथिति एवम् ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आजका सबै कलाको जननी लोककला भएकोले कार्यशालामार्फत लोककलाको संरक्षण र विकास गरिने बताए ।

प्रतिष्ठानका कुलपति कर्माचार्यले मौलिक कलाको कार्यशाला र प्रदर्शनीमार्फत लोककलाको संरक्षण र विकासमा टेवा पुग्ने हुनाले यस्ता कार्यशाला गर्दै जाने बताए ।

त्यसैगरी वरिष्ठ चित्रकार एवम् कार्टुनिष्ट दुर्गा बरालले कलामा पहिचान आवश्यक भएको बताए । उनले भारतमा अंग्रेज शासनपछि भारतीय मौलिकपन हराउँदै गएको र पछि त्यहाँका कलाकारहरुले कलामा पुनर्जागरण गरी मौलिकपन ल्याएको उदाहरण प्रस्तुत गर्दै विविध जातजाति र भाषाभाषी समुदायको विभिन्न मौलिक संस्कार, संस्कृति र परम्परालाई कलामार्फत पहिचान दिलाउन आवश्यक गरेको बताए ।
कार्याशालामा १९ जना सहभागी थिए । उनीहरुले सिर्जना गरिएका १९ वटा कलाकृतिहरु समापनमा प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा विभाग प्रमुख मिथिला देवी यादव, प्राज्ञ बुद्धिबहादुर गुरुङ, हिल प्वइन्ट बोर्डिङ स्कुलका प्राचार्य दिवाकर जैशी, सहभागीको तर्फबाट हिमकान्ति गुरुङ लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।


कार्यशालामा गुरुङ, तामाङ, मिथिला, नेवार, आदिका लोककलाका चित्रकारहरुलगायत धार्मिक आस्थासँगका विषयवस्तु सिर्जना गरेका थिए । कार्यशालामा सहभागी १९ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
पुस १७ गते सुरु भएको लोककला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरेका थिए ।