इरानले गर्‍यो इराकस्थित दुई अमेरिकी सुरक्षा अड्डामा मिसाइल हमला

-


     मर्दी न्युज    
     २३ पुस २०७६ मा प्रकाशित


Mardi News

फोटोः एजेन्सी

एजेन्सी । अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल–असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ ।
इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको हो ।

रकेट प्रहारबाट हालसम्म कुनै क्षति तथा हताहतीको विवरण प्राप्त नभएको बग्दादका संवाददातालाई उद्धृत गर्दै अलजजिरा जनाएको छ । इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

शुक्रबार अमेरिकाले इराकको बग्दादमा इरानका सैन्य कमान्डर कासिम सुलेमानीको ‘हत्या’ गरेपछि दुई देशबीच टकरावको अवस्था आएको हो । आफ्ना सैन्य कमान्डर सुलेमानीको हत्याको बदला लिने इरानले बताइसकेको छ भने अमेरिकाले इरानले प्रत्याक्रमणको बाटो रोजे इरानका ५२ वटा अति महत्वपूर्ण ठाउँ ध्वस्त बनाइदिने चेतावनी दिएको छ ।

अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ । अहिले क्षतिको विवरण आकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ ।