
पोखरा, २४ पुस । नेपाल र भारतबीच भएको सिमा विवाद सुल्झाउन सरकारले कुटनीतिक पहल थालिसकेको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । प्रेस संगठन नेपाल, कास्कीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सिमा विवाद छिट्टै टुङ्गिने बताएका हुन् ।
सुगौली सन्धि पछि जुन किसिमबाट सिमाना मिचिदै आएको छ, यस्तो कार्य मान्य नहुने मन्त्री पोखरेलले बताए । उनले भने– ‘हामीलाई कसैको एक इन्च जमीन पनि चाहिँदैन र हाम्रो एक इन्च जमीन पनि छोड्दैंनौं, युद्धबाट नभई कुटनीतिक तबरले सिमा समस्या समाधान गर्न सरकार कटिबद्ध छ ।’ सुगौली सन्धिलाई आधार मानेर तथ्य र प्रमाणका आधार सरकारले सिमा विवादलाई सल्टाउने उनले बताए ।
सिमानाको विषयमा पहिलो पटक नेपाल सरकारले राष्ट्रिय दावीसहित डिप्लोमेटिक नोट भारत सरकार समक्ष पठाएको बताए । यही नोटका आधारमा भारत सरकारसँग नेपाल सरकारले कुरा अगाडि बढाउने उनको भनाई छ । ‘कुनै एउटा देशले नक्शा जारी गर्दैमा त्यो लागु हुदैन । आपसि सहमतिबिना दुई देशको नक्सा टुङ्गो लाग्दैन । उनीहरुले पनि आफ्नो नक्शा जारी गरे, तर यसको कुनै मान्यता हुदैन । सरकारले यसलाई छिट्टै टुङ्गाउनेछ ।’ –उनले भने ।
मिलिनियम च्यालेन्ज परियोजना (एमसीसी) को बारेमा धेरै हल्ला सुनिएको बताउँदै राष्ट्रिय हित विपरित कुनै पनि कुरा हुन नदिने उनले बताए । ‘हामी छलफल गरेरै यसको निष्कर्ष निकाल्छौं ।’
नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलल पोखरास्थित हिमागृह र रत्नमन्दिरको विषयमा कुरा गर्दै भने– ‘यसलाई उपयोग गर्ने कुरामा कानुनी तरिकाले स्थानीय निकाय तथा प्रदेश सरकारको परामर्शको आधारमा जनताको हितका लागि जे टुङ्गो निस्कन्छ त्यही अनुसारनै हुनेछ । स्थानीय सरकारलाई पन्छाएर यस विषयमा सरकारले कुनै पनि निर्णय गर्दैन ।’
प्रेस संगठन कास्कीका संयोजक माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक सन्देश श्रेष्ठ र कार्यक्रमको सञ्चालन सदस्य रामजी लम्सालले गरेका थिए ।