पोखरा उपत्यकामा भोलिबाट जलपंछी गणना शुरु

-


     मर्दी न्युज    
     २७ पुस २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २७ पुस । सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ । ई.स. १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको यस्तो गणना यस वर्ष पनि गरिँदै छ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ संस्थाको सहभागिता हुने गर्दछ ।

‘यस वर्ष पनि जनवरी ४ देखि १९ (पुस १९ देखि माघ ५) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागहरूमा जलपंक्षीहरूको गणना गरिँदै छ । त्यसै गरि पोखरा उपत्यकामा जनवरी १३–१५ (पुस २८ देखि माघ १) मा जलपंछी गणना गरिने भएको छ’ – पोखरा पंछी समाजका उपाध्यक्ष शेषकान्त शर्माले बताउनु भयो ।

‘पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ र मैदी तालमा, दोस्रो दिनमा बेगनास र रुपा तालमा र तेस्रोदिन फेवातालमा जलपंछी गणना कार्यक्रम गरिदैछ’– पोखरा पंछी संघका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो ।

‘यसबर्ष टाइगर माउण्टेन पोखरा लज, पोखरा पंछी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पंछी संरक्षण संघ–पोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने छ’ – पंछीबिद् झलक चौधरीले बताउनु भयो ।

आउनुहोस् यस जलपक्षी गणना तथा संरक्षण अभियानमा सबै सहभागी बनौ ।