सिक्लेसमा माघे संक्रान्ति महोत्सव तथा खेलकुद हुने

-


     मर्दी न्युज    
     पुस २७ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २७ पुस । कास्कीको मादी–१ सिक्लेस गाउँमा माघे संक्रान्तिको अवसरमा क्लबले २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती समारोह एवम् सिक्लेस माघे संक्रान्ति महोत्सव तथा खेलकूदको आयोजना हुने भएको छ ।

सिक्लेस युवा क्लबको २५ औँ वार्षिकोत्सव तथा माघेसंक्रान्ति मेलाको अवसरमा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।

सो क्लबका अध्यक्ष पदम गुरुङले माघ १ गतेदेखि ४ गतेसम्म आयोजित मेलामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा संस्कृति जगेर्ना उद्देश्यका साथ विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने बताए ।

कार्यक्रममा युवा क्लबका सचिव बेलप्रसाद गुरुङले परम्परागत रुपमा मानिँदै र पुजिँदै आएको स्थानीय तीर्थस्थल ‘म्हउदु क्यु’ र ‘फैमक्यु’को प्रचारप्रसार र सिक्लेस गाउँलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न मेला आयोजना गरिएको बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन सिक्लेसमा आयोजित माघे संक्रान्ति मेलाले सकारात्मक सन्देश प्रवाह गर्नेमा आयोजक विश्वस्त रहेको पदम गुरुङले बताए ।
रजत जयन्ती एवम् खेलकुद आयोजनाबाट १२ लाख आम्दानी हुने र १० लाख खर्च लाग्ने अनुमान आयोजक छ । बचत रकमबाट क्लबले सिक्लेसमा हुने सामाजिक कार्यहरुमा लगानी गर्ने पत्रकार सम्मेलनमा जानकारी गराए ।

पर्यटकीयस्थलको रुपमा परिचित गुरुङ जातिको बाहुल्यता रहेको सिक्लेस गाउँ पुग्न पोखराबाट यात्रुवाहक बसको सुविधा छ ।