पश्चिमी वायु पुनः नेपाल पस्ने, बुधबार रातीदेखि बादल र वर्षा

-


     मर्दी न्युज    
     पुस २९ गते २०७६ मा प्रकाशित


Mardi

पोखरा, २९ पुस । भोलि (माघ १) देखि फेरि पश्चिमी वायु नेपाल पस्ने भएको छ ।
बुधबार साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानमा भारी हिमपातको सम्भावना छ,’ मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ ‘मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोही भु–भागका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत छ ।’

देशको पूर्वी भु–भागमा बिहिबार आंशिकदेखि सामान्य बदली भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महशाखाले जनाएको छ ।

यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसम्म वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह छ ।