
पोखरा, १ माघ । कास्कीमा लागू औषध प्रयोग कर्ता र यसको ओसार पोसार भित्रभित्रै भईरहेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जनाए । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुस महिनामा मात्र कास्कीमा लागु औषधसम्बन्धी कारोवार गर्ने ३५ जना पक्राउ परेका मध्ये २४ जनालाई मुद्दा चलाईएको बताए ।

त्यसै गरी पोखरामा १७ वर्षका एक किशोर स्कुटर चोरीमा सक्रिय भएको तीन हप्तामै पक्राउ गरेको छ । पोखराका ती किशोर कक्षा सातमा अध्ययनकै क्रममा पढाई छाडेर स्कुटर चोर्ने थालेसँगै प्रहरीले उनलाई आफ्नो नियन्त्रणमा लिएको हो ।
विगत तीन हप्तादेखि पोखरा क्षेत्रमा स्कुटर चोरी अभियानमा लागेका उनले ५ वटा स्कुटर चोरी गरेको पत्रकार भेटघाटमा जानकारी गराइएको हो । उनले पुरानो २–३ वटा चावी लिएर पार्किङ गरेका कुनै पनि स्कुटरमा चावी चेक गर्दै हिड्ने क्रममा स्टाट भएमा स्कुटर चोरी गर्दै हिड्ने गरेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. राजकुमार केसीले बताए ।
त्यसै गरी इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले २ वटा स्कुटर चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । स्कुटर चोरी गर्ने पोखरा ७ बस्ने २३ बर्षका सुवास बिक, पोखरा ३१ का २४ बर्षीय मिलन बिक र पोखरा ३२ का २५ बर्षीय पेम्पा घिसिङ रहेको डि.एस.पी. केसीले जनाए ।

पत्रकार भेटघाटमा पुस महिनामा कारवाहीमा परेका सवारी साधनबाट ४९ लाख ९१ हजार राजश्व संकलन भएको जनाए ।
कास्कीमा ६ हजार ३ सय १ वटा सवारी साधनहरु माथि कारवाही हुँदा अन्य महिनाको तुलनामा पुसमा धेरै ४९ लाख ९१ हजार रुपैया राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । साउनदेखि पुससम्म कास्कीमा ३३ हजार ३ सय ५१ वटा सवारी साधन माथि कारवाही हुँदा २ करोड ५७ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको डि.एस.पी.केसीले जनाए ।