मनाङमा हिमपातले जनजीवन कष्टकर (फोटो फिचर)

-


     मर्दी न्युज    
     माघ २ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २ माघ । हिमाली जिल्ला मनाङमा बिहीबार बिहानैदेखि हिमपात भइरहेको छ । मनाङका सबै गाउँवस्तीसम्म हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । स्थानीयका अनुसार बिहान एक बजेबाट निरन्तर हिमपात भइरहेको छ । उनका अनुसार यसअघिकै हिउँ पग्लिनसकेको अवस्थामा बिहीबार हिउँ थपिएको हो ।


हिमपातपछिको चिसोले बाहिर निस्कन सकेका छैन । हिमपातपछिको चिसोले हिटर र आगो बालेर बस्नुपरेको एक्यापका सोनी गुरुङले बताए ।

त्यसैगरी सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म चामेका डीएसपी रमेश भुवाजी क्षत्रीका अनुसार हिमपातसँगै साँझपख चिसो हावा चल्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बिहीबार बिहानैबाट परेको हिमपातले जनजीवन प्रभावितमात्रै होइन, कष्टकर पनि बनाएको छ । चिसोले कार्यालयको काम सम्पादनम समेत समस्या परेको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार हिमपातपछि पर्यटकहरु गन्तव्यमा जान सकेका छैन ।


मनाङ ङिस्याङ गाउँपालिका एक पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार यसअघि परेको हिउँमा पुनः बिहीबार हिउँ थपिएको छ । यसअघिको हिउँ एक फीट रहेको र बिहीबार एक फीट थपिएर दुई फीट बाक्लो भएको उनले बताए । ‘बिहानैदेखि हिमपात भएको छ । चिसो सहि नसक्नु छ । बाहिर निस्कन गाह्रो छ’ उनले भने ।


मनाङमा रातको समय माइनस १५ डिग्री तापक्रम छ । बिहीबार दिउँसो माइनस ८ डिग्री तापक्रम मापन गरिएको मनाङ प्रशासनले जनाएको छ । फोटोः ब्रिजबहादुर गुरुङ र सोनी गुरुङ