होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन

-


     मर्दी न्युज    
     माघ ३ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ३ माघ । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो ।

खगेन्द्रको निमोनियाका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । खगेन्द्रमा यसअघि स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो बिहीबार मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्षमा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए ।

बागलुङ घर भएका खगेन्द्र थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो ।

रूपबहादुर थापामगर र धनमाया थापामगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६, बागलुङ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए । उनको वजन ५.५ किलोग्राम मात्र रहेको थियो ।