अन्नपूर्ण पदमार्गमा हिमपहिरो, पर्यटक हराएको आशंका

-


     मर्दी न्युज    
     माघ ३ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ३ माघ । अन्नपूर्ण आधार शिविर हिँडेका ५ विदेशी पर्यटक सम्पर्क विहीन भएका छन् । चार कोरियाली र एक चिनियाँ पर्यटक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार ९ कोरियाली मध्ये ४ जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ ।

अन्नपूर्ण पदमार्ग अन्तर्गत देउराली र हिमालय होटलका बीचमा पर्ने हिउँकु केभको पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो ती पर्यटक हिमपहिरोमा परेका हुन । उक्त क्षेत्रमा लगातार हिमपात भईरहेको र सञ्चारसम्पर्क नभएकोले पनि सम्पर्कविहीन भएका पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कार्कीले बताए । कार्कीका अनुसार पाँचजना कोरियन पर्यटक हिमपहिरोमा परेका थिए । ती मध्ये एकजनाको घाइते अवस्थामा उद्धार भएको छ । अरु चारजना कोरियन पर्यटक सुरक्षित रहेको उनले बताए । तर, चिनियाँ पर्यटकको बारेमा भने जानकारी नआईसकेको उनले बताए ।

‘केही पर्यटक हिमपहिरोमा परेर हराएको आशंका गरिएको छ । सञ्चार सम्पर्क नभएको र उद्धारका लागि खटिएको प्रहरी टोली घटनास्थलतर्फ गइरहेकोले यकिन जानकारी आएको छैन,’ उनले भने, ‘लगातार हिउँ परेकोले पनि उक्त क्षेत्रमा उद्धारमा पुग्न कठिनाई भएको छ ।’ घान्द्रुकबाट प्रहरी घटनास्थलतर्फ गईरहेको उनले बताए । स्थानीयबासीसँग सम्पर्क गर्ने प्रयास भईरहेको कार्कीले जानकारी दिए ।

छोमरोङ पर्यटन व्यवसायी समितिका सचिव तथा माछापुच्छ«े बेस क्याम्पस्थित फिस्टेल गेष्ट हाउसका सञ्चालक दिलिप गुरुङले एकजना नेपाली गाइड मात्र हिमपहिरोमा परेर बेपत्ता भएको जानकारी दिएका छन् । ती गाइडको पहिचान खुलेको छैन । ‘पर्यटक लिएर हिडिरहेको बेला एकाएक माथिबाट हिमपहिरो झरेको हो,’ गुरुङले भने, ‘एकजना गाइड सम्पर्क विहीन भएका छन् । तर, उनीसँगै रहेका अर्का एकजना पोर्टर भने सुरक्षित छन् ।’ पदयात्रामै रहेका कोरियन ४ जना पर्यटक र चिनियाँ पर्यटकको गाइड गरी ५ जना भने सम्पर्कविहीन भएको उनले बताए । उनीहरु सुरक्षित छ या छैनन् भन्नेबारे एकीन नभएको बताए ।