
फाइल फोटो
पोखरा, ४ माघ । अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका पर्यटकको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण आधार शिविर जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र भरियाको खोजीमा समस्या भएको छ । बाक्लो हिउँ र बाटोसमेत बगेकाले समस्या भएको स्थानीयले बताए ।
अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीको बीचमा पर्ने हिङकुमा आएको हिमपहिरोमा कम्तीमा ३ नेपालीसहित ७ बेपत्ता भएका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलका अनुसार, हराउनेमा कोरियाली नागरिक ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको खुलेको छ । त्यस्तै, कोनाको ट्रेकिङ एजेन्सीबाट पर्यटक लिएर गएका नेपाली गाइड सरोज परियार, छिरिङ भोटे र भरिया मिनबहादुर लामा हिमपहिरोमा हराएका छन् ।
फिस्टेल गेस्ट हाउसका सञ्चालक दिलिप गुरुङले घटनास्थलमा बाक्लो हिउँ र पहिरोले गर्दा जान नसकिएको बताए । आधार शिविरमा अलपत्र परेका १०० पर्यटकलाई उद्धार गरिएको पनि गुरुङले बताए । उनीहरु सबै सुरक्षित रहेको उनले बताए ।
कोरियाली पर्यटक ११ जनाको समूहमा थिए । तीमध्ये ७ जना सम्पर्कमा आएका छन् भने ४ जना हराइरहेका छन् । भोलि पनि खोजी कार्य जारी रहने छोमरोङ पर्यटन व्यवसायी समितिका सचिव समेत रहेको दिलिप गुरुङले बताए ।