पिपल पातको कलामा डुबुल्की मार्दै केदार पालिखे

-


     मर्दी न्युज    
     माघ ५ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा । घरको प्रवेशद्वारबाट भित्र छिर्ने्बित्तिकै सुन्दर दृश्यले मन तान्छ । किनकि त्यहाँ विभिन्न खाले सिर्जनशील कला देख्न सकिन्छ । बाहिर र भित्र जताततै चित्रहरू । अझ भन्नुपर्दा पिपलको पातमा कोरिएका नेपालका गाउँघरको सुन्दर सिर्जनशील कला । घरका भित्तामा थुप्रै चित्रहरू फ्रेममा सजिएर टाँसिएका थिए ।

मानिसहरु भन्ने गर्छन्– ‘उसको स्वर त कस्तो ‘गर्ड गिफ्टेड’ रैछ, भगवानले त उसलाई साथ दिएकै हो । स्वर सुन्दा पनि कति आनन्द आउछ ।’ तर कलाको विधा फरक छन् । कोही गीत गाउँछन्, कोही नाच्छन्, कोही चित्र कोर्छन आदि ।

त्यस्तै ‘गर्ड गिफ्टेड’ कलाकार हुनुहुन्छ, केदार पालिखे । जो विगत चालिस वर्षदेखि पोखरामा कला कर्म गर्दै आउनु भएको छ । विसं २०१४ सालमा पोखराको पालिखेचोकमा जन्मनु भएका कलाकार पालिखे उहाँको सुरुवात पानी रङ्गबाट भयो । पोखरा लेकसाइड र एयरपोर्ट वरिपरी आर्ट पसल प्रशस्त हुन्थे । जहाँ विदेशी पर्यटकहरु थुप्रै आउथे । गिफ्ट्को रुपमा पेन्टिङ्ग चित्रहरु खरिद गरेर लान्थे ।

सिल्क पेन्टिङ्ग कालो कपडामा पोस्टर कलरले मच्छापुच्छ«े हिमाल र खरले छाएका घरहरु बनाउँदै गर्दा कतिपय विदेशी पर्यटकहरुले मन परेर लाने गरेको सम्झना ताजै छ केदार पालिखेसँग । कृषिविज्ञ जुम गुरुङसँग भेट भएपछि पात बनाउने तरिका सिक्नु भयो र पिपलको पातमा पेन्टिङ गर्न थाल्नु भयो । पिपलको पातलाई दुई सातासम्म कुहाएर त्यसलाई धोईपखाली घाममा सुकाएर तयार गर्ने गरिन्छ ।

उहाँले बनाउनु भएको पात पेन्टिङ्ग उपहारको रुपमा निकै बिक्री हुने गर्छ । अमेरिका, यूरोप, जापान र कोरियासम्म नेपालीहरुले किनेर लैजाने गर्छन् । पिपलको पातमा बनाएको पेन्टिङ खरिद गर्न जापानदेखि खोजी गर्दै घरसम्म आइपुगेको बताउनु हुन्छ ।

पिपलको पातमा चित्र कोर्ने पोखरमा एक मात्र व्यक्तित्व हुनुहुन्छ उहाँ । यो काम गर्ने विधि अलि झन्झटिलो पनि छ । जुन पायो त्यही पिपलको पातले हुँदैन, पातको छनौट गर्न जान्नु पर्छ । यो काममा आफ्ना जीवन सङ्गिनी रेणू पालिखेले पनि सहयोग गर्नुहुन्छ । उहाँ धेरै पहिलेदेखि पोखराको कला गतिविधिमा सहभागी हुनुहुन्छ ।

सायद ०३६÷३७ साल तिरको होला पोखरेली कला शिल्पी समूहले पोखरा तेर्सापट्टिमा आर्ट ग्यालरी खोलेको थियो । उहाँ त्यती बेला सेल्समेन हुनुहुन्थ्यो । सिर्जनशिल कलाकार समूहको कोषाध्यक्ष र उपाध्यक्ष समेत भएर काम गरिसक्नु भएका पालिखेले ०४५÷४६ सालतिर नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान (नाफा) द्वारा आयोजित क्षेत्रीय राष्ट्रिय कला प्रदर्शनीमा द्वितीय स्थान प्राप्त गर्नु भएको थियो । त्यसबेला नैनसिङ बाङ्देल कुलपति हुनुहुन्थ्यो । स्थानीय र नाफाद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनी तथा कला कार्यशालामा धेरै सहभागी भइसक्नु भएको छ । पाखिले आफूलाई ‘सचित्र चीन’ भन्ने पत्रिकाबाट चित्रतर्फ आकर्षित भएको बताउनु हुन्छ ।

हाल उहाँ आफ्नै निवास पालिखेचोक गैह«ापाटनमा परिवारका साथ बस्नुहुन्छ । उहाको श्रीमती, तीन छोरा, दुई बुहारी एक नातिनी छन् भने माइला छोरा–बुहारी अस्ट्रेलियामा हुनुहुन्छ ।