अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

-


     मर्दी न्युज    
     ५ माघ २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, ५ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो रस्साकस्सीपछि सभामुखको उम्मेदवार टुंगो लगाएको छ । नेकपाले पूर्वमाओवादी समूहका अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए । दुवै अध्यक्ष आ–आफ्ना अडानबाट पछाडि नहटेपछि प्रतिनिधिसभा लामो समय सभामुख बिहीन रह्यो ।

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ । सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि दाबी थियो ।

आइतवार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटाकै नाममा सहमति जुटाएका थिए । यसअघिकै सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन भनिसकेको छ । तुम्बाहाङ्फेले सोमबार राजीनामा दिने बताइएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएसँगै सभामुख पद रिक्त थियो ।