
पोखरा, ९ माघ । संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुनेछ । सरकारको सिफारिसमा एक सदस्य राष्ट्रपतिले मनोनयन गर्नेछन् । ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन् । बिहीबार निर्वाचन भए पनि १९ सदस्यको कार्यकाल भने फागुन २० मा सकिने छ ।
निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पुरा भएको बताएको छ । आयोगले सात प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेको बताएका छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन् ।
आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन् ।
निर्वाचनमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले भाग लिदैंछन् ।
को को बिदा हुँदैछन् ?
अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल पूरा हुन लागेको हो । राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेकपाका ९, नेपाली नेपाली कांग्रेसका ७, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।
बिदा हुनेमा डा युवराज खतिवडा, सुरेन्द्रराज पाण्डे, रामप्रीत पासवान, सरिता प्रसाईं, हरिचरण शिवाकोटी, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, मीना बुढा, बलरामप्रसाद बाँस्कोटा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।