जाने होइन त राङभाङ ? आजै योजना बनाउनुहोस्

-


     मर्दी न्युज    
     माघ १२ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा । बढ्दो सहरीकरण, कोलाहल बस्ती र उकुसमुकस जीवनले पछिल्लो समय एक ठाउँबाट अर्को ठाउँ गएर घुमफिर र रमाइलो गर्नेे चलन बढेको छ । सहरको कोलाहल र प्रदूषणबाट थोरै समय भए पनि शान्त र रमणीय स्थानको खोजीमा ग्रामीण क्षेत्रमा जान चाहनेको संख्या बढ्दो छ । त्यही भएर मुड फ्रेस बनाउन होस् या सन्तानलाई ज्ञान सिकाउन, नयाँ ठाउँ चिन्न होस् या घुमघामबाट मनोरञ्जन लिन नेपालीको संख्या बर्सेनी बढ्दैछ ।

गाउँमा पाहुना भित्र्याउन यतिखेर पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकाका सिमानामा पर्ने सुन्दर र रमणीय गाउँ भैंसेगोंडा–राङभाङका स्थानीयले पाहुनाका लागि तयारी गर्दैछन् । त्यहाँका स्थानीयले सामुदायिक होमस्टे सञ्चालनमा ल्याइसकेको पनि १ वर्ष पार गरिसकेका छन् ।

सन्दर्भ हो लाटोकोसेरो तथा हुचील उत्सवको । यही माघ २४ र २५ गते राङभाङ – भैंसेगौंडामा यो उत्सव हुँदैछ । नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

उत्सवको लागि स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गीत तथा नाचको प्रर्दशनी गर्न तयारी गरिरहेको संयोजक बालकुमार गुरुङले बताए । पुतलीबजार नगरपालिका स्याङ्जा बजारका ११ सहित निजी तथा सामुदायिक विद्यालय गरी १४ र विरुवा गाउँपालिकाका २ विद्यालय गरी शुक्रवारसम्ममा १६ वटा विद्यालयमा प्रशिक्षण उत्सव सुरु हुनु अघि नै लाटोकोसेरोसम्बन्धी चेतना शिविरहरु सञ्चालन गरिसकेको छ ।

राङभाङ–भैंसेगौंडामा गुरुङ र मगरको बस्ती छ । आदिवासी जनजातिको बस्ती भएका कारणले पनि उनीहरुको मौलिक साँस्कृतिक स्वाद यस उत्सवमा लिन सकिने छ । उत्सवको पहिलो तथा दोश्रो दिन स्थानिय सास्कृतिक कार्यक्रमहरु घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटी आदिको प्रर्दशनी हुने भैंसेगौंडा सामुदायिक होमस्टेका सञ्चालक समेत रहेका बालकुमार गुरुङले बताए । उत्सवबाहेक अरु बेला पाहुनाको चहाना अनुसार गुरुङ र मगर संस्कृति देखाउन सकिने उनको भनाई छ । मिलेनियम पदमार्गमा पर्ने यस सामुदायिक होमस्टेमा वाईफाईको समेत सुविधा छ ।

जनजातिहरुमा रहेको विदेश जाने मनस्थितिलाई बदल्न र घरमै बसेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन पनि होमस्टे सुरुवात गरिएको उनी बताउँछन् ।

यहाँ प्राकृतिक सौन्दर्यको भरपुर आनन्द पनि लिन सकिन्छ । होमस्टे बाटै हिमाल श्रृङ्खलाको लामो दृश्यावलोकन गर्न सकिन्छ । रतुवा, दुम्सि, खरायो, बाँदर, लंगूर, चितुवा, चरी बाघ, स्याल, काँडेभ्याकुर, कालिज, लामपुच्छ«े, तित्रा, सुगा, मलेवा, ढुकुर, लाटोकोसेरो, हुचिल, कोईली, जुरेली जस्ता जनावर र चराचुरुङ्गी सजिलै अवलोकन गर्न सकिन्छ ।

राङभाङ कसरी पुग्ने ?
काठमाडौंबाट पोखरा हुँदै स्याङजा, वालिङ वा पाल्पा जाने कुनै पनि बसमा गएर स्याङजाको सदरमुकाम नजिकै चन्द्रनगर (घुम्ती) भन्ने ठाँउमा झर्नुपर्छ । पोखरादेखि स्थानीय बसहरुसमेत घुम्तीसम्म उपलब्ध छन् । पोखराको पृथ्वीचोकबाट पनि ट्याक्सीले प्रति व्यक्ति रु २५० का दरले वा रिर्जभमा १ हजारमा घुम्तीसम्म जान्छन् । घुम्तीबाट राङभाङसम्म ३ वटा जीपहरु दिउसो २ बजेतिर जानेगरि नियमित रुपमा उपलब्ध छन् ।

उत्सवको बेला माघ २३ गते बेलुका, माघ २४ र २५ बिहान अतिरिक्त बसको व्यवस्था गरिने संयोजक गुरुङले बताए । स्याङजाको घुम्ती बजारबाट ४५ मिनेटमा गाडी, मोटरसाइकल वा स्कुटीमा पनि पुग्न सकिन्छ । साना मिनी बसहरु गाँउसम्म पुग्छन् । प्रकृतिमा रुची राख्नेहरु २ देखि ३ घण्टामा हिँडेर घुम्तीबाट गाँउसम्म पुग्न सकिन्छ । तनहुँको दुलेगौडाबाट पनि कोल्मा हुँदै पनि राङभाङ पुग्न सकिन्छ ।

उत्सवको बेला राङभाङ(भैसेगौँडामा कता बस्ने?
यस क्षेत्रमा सामुदायिक होमस्टे छ । घर घरमा समेत सो अवधिका लागि होमस्टेको व्यवस्था गरिएको छ । प्रतिदिन प्रति व्यक्ति रु ६०० का दरले (बेलुकी खाना, बास र बिहान खाजा) निर्धारण गरिएको छ । अतिरिक्त साधा खानाको रु. २०० र लोकल कुखुराको मासु रु १५० प्रति प्लेट उपलब्ध हुनेछ । फोटोः राजु आचार्य