‘शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेषण गर्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे

-


     मर्दी न्युज    
     असार ६ गते २०८३ मा प्रकाशित


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी सञ्चारकर्मीले समाचार लेख्नुपर्ने बताएका छन् । 

संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘संसदीय र अदालती रिपोर्टिङ’ तालिम उद्घाटन गर्दै उनले सरकार सञ्चालनका कमीकमजोरी उजागर गर्नुपर्ने तर संघीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति नागरिकमा वितृष्णा आउने समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गरे । 

“यदि अहिलेको शासन व्यवस्था रहने भने देशमा निरङ्कुशता हाबी हुन्छ । त्यस बेला पहिलो सिकार हुने भनेको सञ्चार जगत् हो, नागरिक अधिकार कुण्ठित हुन्छन् । पत्रकारिता जगतले सकारात्मक सोच र आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्नु आवश्यक छ”, मुख्यमन्त्री पाण्डेले भने । उनले संघीयतापछि जनताले नजिकबाट सरकारसँग आफ्ना माग राख्ने र अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेको बताए । 

“प्रदेश सरकार बनेपछि जनताले नजिकबाट सरकारलाई चिन्न पाएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूलाई भेटेर आफ्ना गाउँ ठाउँका आवश्यकताहरू र  प्रत्यक्ष आफ्ना मागलाई सरकार प्रमुखसँग राख्ने अवसर प्राप्त भएको छ । नजिकबाट सरकारलाई सुनाउने अवस्था छ”, उनले भने । 

तालिम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सुशीला सिँखडा, गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले कानुन निर्माण प्रक्रियाको बारेमा ज्ञान बढाउन तथा संसदीय प्रक्रिया बुझेर सही रिपोर्टिङका लागि तालिमले सहयोग पुग्ने विश्वास गरे । 

तालिमको पहिलो दिन संसदीय पत्रकार मामिला समाजका अध्यक्ष मनोज सत्याल र पोखरा रिसर्च सेन्टरका प्रमुख सुजन रेग्मीले सहजीकरण गरे । तालिममा पोखरामा क्रियाशील ६० भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको मञ्चका अध्यक्ष विशन क्षत्रीले जानकारी दिए ।