कोरोना भाइरसका बारेमा अमेरिकाले राजनीति गर्दैछः प्रचण्ड

-


     मर्दी न्युज    
     २२ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका बारेमा अमेरिकालगायत पश्चिमा शक्ति राष्ट्रले राजनीति गरेको आरोप लगाएका छन् ।
प्रेस संगठन नेपाल, कास्कीको आयोजनामा पोखरामा भएको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले चीनलाई मन नपराएकै कारण अनावश्यक प्रचारप्रसार गरेर वातावारण दूषित बनाएको आरोप लगाए । ‘मैले हिजो यस्तो तर्कमात्र गरेको थिएँ । चीन सरकारले वक्तव्य नै निकालेछ । पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर अनैतिक काम भएको, गलत ढंगले बढी प्रचार गरियो भनेर चीनले भनेको छ ।’

भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले कोरोना भाइरसबाट त्रसित हुनुपर्ने अवस्था नआए पनि सतर्कचाहिँ हुन पर्ने अवस्था नभएको उनले बताए । चीनले कोरोना भाइरसको उपचारका लागि भ्याक्सिन बनाउने काममा लागिरहेको बताउँदै छिट्टै निराकरण हुने आशा उनले व्यक्त गरे । पोखरामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘हाम्रा निम्ति खुसीको कुरा के भने नेपालमा एउटा पनि कोरना भाइरसबाट संक्रमित भएको मान्छे छैन ।’

पत्रकार भेटघाटमा एक पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताएका छन् ।

‘छोटो समय दिएर सबैले बुझ्ने गरी १० दिनभित्र प्रतिवेदन तयार पार्न झलनाथ खनालको नेतृत्वमा काम अगाडि बढिसकेको छ । १० दिनभित्र प्रतिवेदन आइसकेपछि जे ल्यायो त्यही पास हुन्छ भन्ने होइन,’ उनले भने, ‘अध्ययन कार्यदलले सचिवालयमा पेश गरेपछि पार्टीले निर्णय गर्ने हुन्छ । जे ल्याए पनि त्यसैलाई मान्यता दिने काम हुँदैन । त्यसैलाई आधार बनाएर अगाडि बढ्छ ।’

पहिले एमसीसीको विपक्षमा रहेका प्रचण्डले सभामुख पद आफूले रोजेको व्यक्ति पाएपछि बोल्न छाडेकोबारे पत्रकारले उठाएको प्रश्नमा उनले कुनै पदसँग यो विषय नसाटिएको बताए ।

प्रचण्डले केन्द्रीय समितिको बैठकले भावनात्मक अन्तरघुलन गराएको बताए । ४ सय ५० जना केन्द्रीय सदस्यमा सबैले सबैलाई चिन्ने अवस्था नरहेका बेला छलफलले राम्रो अन्तरघुलन र भावनात्मक एकताको आधार तयार भएको उनको भनाइ थियो ।

‘५ दिनसम्म बैठक बसेर सर्वसम्मत रुपमा निश्कर्ष निकालियो,’ प्रचण्डले भने, ‘सबै विषयमा सर्वसम्मतको निर्णय आउनु धेरै नै सकारात्मक परिघटना हो ।’

राष्ट्रिय सभाको निर्वाचन भएपछि पार्टी एक्लै दुईतिहाई बहुमतको अवस्थामा पुगेको प्रचण्डले बताए । ‘पहिले भन्थ्यौं, दुईतिहाईको नजिकै । अर्को कुनै पार्टी समेल भएपछि दुईतिहाई भयो,’ प्रचण्डले भने, ‘अब कोही सामेल नभए पनि दुई तिहाईको अवस्थामा पुग्यौं ।’