पोखरा, ४ फागुन । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवनस्तर उकास्ने गरी प्रदेशको विकासमा क्रियाशिल हुन प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख शेरचनले संघियतामा जनताका धेरै इच्छा र आकांक्षा धेरै हुने हुंँदा अझ बढी सक्रिय भई उपलब्ध प्राकृतिक साधनस्रोतको परिचालन गरी जनताको जीवनस्तर माथि उठाउने गरी काम गर्न आग्रह गरेका हुन् ।
उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै राम्रो उपयोग हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुखले जनभावनाअनुरुप सरकार बढ्न सक्दा प्राप्त हुने लोकप्रियता अन्य प्रदेशका लागि पनि नमूना हुन सक्ने धारणा राखे । नदीनाला र ताल तलैयाँलगायतका साधन स्रोतको उपयोग गर्ने वातावरण निर्माण हुनुपर्नेमा उनको जोड छ ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अवधिमा आवश्यक कानून निर्माण भई सरकार भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा अघि बढिरहेको बताए । प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजना बनाइसकिएको बताउँदै उनले २५ वर्षे दीर्घकालीन योजनासमेत तयार भइसकेको जानकारी दिए ।
प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध भएको बताउँदै शान्ति सुरक्षाको प्रभावकारिताका लागि प्रहरी सेवालाई पनि प्रभावकारी बनाउन खोजिएको धारणा राखे ।
प्रदेशभित्र सडक पूर्वाधार विकासका काम तीब्ररुपमा अघि बढेको बताउँदै उनले खानेपानी र विद्युतजस्ता अत्यावश्यकीय सेवालाई घरघरमा पुर्याउने गरी काम बढिरहेको बताए । प्रदेश सरकारले पहिलो वर्ष दुई वर्षभित्रमा प्रदेशमा आधारभूत खानेपानी र उज्यालो प्रदेश बनाउने घोषणा गरे पनि स्थानीय तहले समयमै प्रदेश सरकारसंँग उचित ढंगले समन्वय गर्न नसक्दा आगामी एक वर्षभित्र आधारभूत खानेपानी र उज्यालो प्रदेश घोषणा गर्ने गरी सरकार लागेको मुख्यमन्त्री गुरुङले बताए ।
अझै पनि प्रदेशका १४.५ प्रतिशत जनतालाई समेट्न १ सय ३० परियोजना मार्फत आगामी दुई वर्ष भित्र पुरा हुने गरी एक घर एक धारा अभियान समेत संचालन गर्ने भएको मुख्यमन्त्रीले बताए । ९१ वटा आयोजना मार्फत २३ हजार ७ सय धारा निर्माण गरिएको उनले बताए । २ लाख ७४ हजार जनसङख्या यसबाट लाभान्वित भएको मुख्यमन्त्री गुरुङले बताए ।
सरकारको घोषित कार्यक्रमअन्तर्गत ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने योजनाअनुरुप गरिएको अध्ययन अनुसन्धानका क्रममा ५१ वटा स्थानीय तहमा यसको सम्भावना देखिएको र आगामी पाँच वर्षभित्र उद्योग ग्राम स्थापना गरिने जानकारी दिए ।
गण्डकी प्रदेशलाई पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारसँग माग गरिएको बताउँदै उनले यसबीचमा पर्यटन पूर्वाधारका विभिन्न काम अघि बढाइएको धारणा राखे ।
प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचनका क्रममा व्यक्त गरिएका घोषणापत्र अनुसार काम भयो वा भएन त्यसको समीक्षा गरेर अघि बढ्न सरकारलाई सुझाव दिए । सरकारले हाम्रा नभनी राम्रा राष्ट्रसेवकलाई प्राथमिकतामा राख्नसके त्यसले अन्य प्रदेशबाट पनि कमचारीको आकर्षण यसतर्फ बढाउन सकिनेमा उनको जोड छ ।
प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले प्रदेश सरकार समृद्धि र विकासलाई लक्षित गर्दै अघि बढिरहेको बताउँदै यस अवधिमा धेरै महत्वपूर्ण कामले गतिलिएको बताए । कार्यक्रममा प्रदेश सरकारद्वारा प्रकाशित गण्डकी प्रदेश सरकारका दुई वर्ष नामक पुस्तकको मुख्यमन्त्री गुरुङ र प्रदेश प्रमुख शेरचनले संयुक्तरुपमा लोकार्पण गरे ।
कार्यक्रममा प्रदेश सर्वोत्कृष्ट कर्मचारीका रुपमा एक लाख रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव दलबहादुर अधिकारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखाअधिकृत सुमन भट्टराईलगायत प्रदेश अन्तर्गतका १८ जना कर्मचारीलाई ५० हजार र २५ हजार रुपैयाँ नगद सहित उत्कृष्ट निजामती कर्मचारीका रुपमा पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।