
तस्विरः खेम गुरुङ, मर्दीन्यूज
पोखरा, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाको दुई तिहाइको सरकार संकटमा परेको संकेत देखिएको बताएका छन् । मिडिया नेपाल केन्द्रीय समितिको बैठक तथा गण्डकी प्रदेश घोषणा सभालाई सोमवार पोखरामा सम्बोधन गर्दै अध्यक्ष थापाले भने– प्रधानमन्त्री केपी ओली आफ्नो गृह जिल्ला झापा पुगेर आइतवार आफ्ना मतदातासँग सरकार गिराउने खेल भइरहेको भनाइले देशी विदेशी शक्ति क्रियाशील छन् भन्ने बुझिन्छ ।
अध्यक्ष थापाले सरकार गठन भएको दुई वर्ष मात्र पुग्दा दुई तिहाइको सरकार संकटमा पर्नु विडम्वना भएको बताउँदै वर्तमान सरकारलाई विस्थापित गर्न देशी–विदेशी शक्ति क्रियाशील भएको उल्लेख गरे । ‘नेपाली राजनीतिमा वाह्य शक्तिको दवाव र प्रभाव परेको छ’– उनले भने– ‘परिवर्तनकारी शक्ति र परम्परावादी शक्तिबीचको समिश्रणबाट नै राजनीतिक स्थिरता आउन सक्छ, राप्रपा मध्यमार्गी बाटोबाट अगाडि बढेको छ,’ उनले थपे– ‘पुरानो व्यवस्थालाई फर्काउने सोच अगाडि सारेको छैन ।’
गत निर्वाचनमा राप्रपाले कम मत आएकै कारण राष्ट्रिय पार्टी समेत बन्न नसकेको समेत उल्लेख गरे । राप्रपाले संगठन विस्तार गरी तीन लाख सक्रिय सदस्य बनाउने अभियानमा जुटेको पनि बताए । २०७७ सालमा राष्ट्रिय महाधिवेशन समेत गर्ने तयारीमा जुटेको उनले जनाए ।
देशमा शान्ति र विकास सरकारले दिन नसकेको बताउँदै राप्रपा अध्यक्ष थापाले देशमा मंहगी र भ्रष्टाचार चरम बिन्दुमा पुगेको बताए । उनले भने– ‘उद्योग, कलकारखाना खुल्न नसक्दा युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन्, देशको अर्थतन्त्र रेमिटेन्सले धानिएको छ, संविधान बन्यो, सरकार बन्यो तर विकास आएन ।’
श्रमजीवी पत्रकारले अझैपनि स्वतन्त्र रुपमा कलम चलाउन सक्ने वातावरण नभएको बताउँदै मिडिया पनि नियन्त्रित भएको बताए । उनले नेपाली संचार माध्यम राजनीतिक स्वार्थ, वाह्य स्वार्थ र व्यापारिक स्वार्थबाट नियन्त्रित रहेको बताउँदै राप्रपा अध्यक्ष थापाले भने– बृहत राष्ट्रिय हितका विषयमा संचारकर्मीले कलम चलाएको पाइदैन । मिडियाले गरिब निमुखा र साना राजनीतिक पार्टीको कुरा पनि बाहिर ल्याइदिनु प¥यो ।
मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, अर्का नेता बुद्धिमान तामाङले संचारकर्मी स्वतन्त्र कलम चलाउन सुझाएका थिए । उक्त कार्यक्रममा सूर्य वाँस्तोलाको संयोजकत्वमा सात सदस्यीय मिडिया नेपाल गण्डकी प्रदेश समिति गठन भएको घोषणा गरिएको थियो ।