राष्ट्रिय जनगणनाको लागि तयारी सुरु

-


     मर्दी न्युज    
     फागुन ५ गते २०७६ मा प्रकाशित


mardi news

पोखरा, ५ फागुन । केन्द्रीय तथ्यांक विभागले २०७८ मा हुने राष्ट्रिय जनगणनाको लागि तयारी शुरु गरेको छ । विभागले यो जनगणनालाई संघीय नेपालको पहिलो जनगणना भएको सोमबार विभागद्वारा आयोजित ‘राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा सञ्चार तथा प्रचारप्रसारका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम’मा विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

विभागले तयारी स्वरुप विभिन्न सरोकारवालासँग अन्तरक्रिया तथ सुझाव संकलन गरिरहेको निर्देशक लामिछानेले बताए । अब हुने जनगणना १२ औं रहेको पनि उनले बताए ।
नेपालको पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियोे । त्यस समयमा चन्द्रशम्सेर प्रधानमन्त्री थिए । वि.सं. २००९÷०११ देखि भएको जनगणनाहरु अन्तर्राष्ट्रिय रुपमा तुलनायोग्य आधुनिक जनगणना भएको लामिछानेले जनाए ।
१२ औं श्रृङ्खलाको जनगणनामा प्रविधिको प्रयोग गरी ९ महिनाभित्र तथ्याङ्क प्रतिवेदन सार्वजनिक गर्ने निर्देशक लामिछानेले बताए ।
दिगो विकासका १७ वटा लक्षमध्ये १४ वटा लक्ष्य जनगणनासंग सम्बन्धित भएकोले यो काम निकै महत्वपूर्ण रहेको तथ्यांक कार्यालय कास्कीका निर्देशक जगुलाल बस्यालले बताए । उनले राम्रो र सन्तुलित सन्देशहरु प्रसारण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

विभागले देशका ७७ वटै जिल्लामा सचेतना कार्यक्रम शुरु गरिसकेको छ ।