
पोखरा, २१ फागुन । कोरोनाभाइरसले असर गरिरहेको पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव भएको छ । बुधबार बिहान १० बजे खहरेचोकदेखि विभिन्न १० देशका कलाकारहरुको ¥यालीसहित लेकसाइडस्थित अम्बोटमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा नेपालसहित विभिन्न देशका कलाकारहरु गरी ११ देशको सहभागिता रहेको थियो । महोत्सवमा आआफ्नो देशको साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।

अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरानाभाइरस पनि एक प्रकारको भाइरस भएकोले यसबाट बच्न सचेतना अपनाउनुपर्ने बताए । विभिन्न देशमा यसबाट संक्रमित भइरहेको भएपनि नेपाल सुरक्षित रहेको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरे ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा, टान पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष हरि भुजेललगायतका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा छिमेकी मुलुक भारत, बंगलादेश, श्रीलङ्का, बुल्गेरिया, डेनमार्क, इजिप्ट, इस्टोनिया, इजरायल, मलेसिया र मेक्सिकोको कलाकारहरुले परम्परागत तथा आदिवासी जातिको साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।





















