
पोखरा, २९ फागुन । विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले सेमीफाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज बिहीबार भएको दोस्रो सेमिफाइनलको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मनाङले चौथो मिनेटमा फ्लोरेन्टले गोलको खाता खोल्दै आर्मीलाई दबाबमा राखेको थियो ।
यसै गरि खेलको २९ औं मिनेटमा मनाङले आफ्नो अग्रतालाई दोब्बर बनायो । अन्जन विष्टको पासमा बिमल राना मगरले टिमका लागि दोश्रो गोल गरे । तर, ४१ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २–१ को स्थितिमा ल्याए ।
सुमन अर्यालले दिएको पासमा डि बक्स भित्रै रहेका नवयुग श्रेष्ठले भरत खवासका लागि मिलाएको हेडर पास बाटै खवासले टिमका लागि गोल गरे ।
खेलको ८१ औं मिनेटमा बिमल रानाको पासमा अन्जन विष्टले मनाङका लागि गोल गर्ने मौका चुकाएनन । मनाङको लागि अन्जनले ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा दिप कुमारले एक गोल फर्काए पनि आर्मीसँगको हार टार्न सकेनन् ।
अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ ।