कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ ‘भिडियो कन्फरेन्स’

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७६ मा प्रकाशित


काठमाडौँ, २ चैत । दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच हुने भएको छ ।

विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।

भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ’एक्सन रुम’ बाट आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण लामो समयदेखि सार्क निष्कृय छ । तर, भिडियो कन्फरेन्समा पाकिस्तान पनि सहभागी हुने बताइएको छ ।

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।