
सांस्केतिक तस्विर
पोखरा, ११ चैत । विश्वभर महामारीको रुप लिएको कोभिड–१९ को संक्रमणबाट मंगलवार बिहानसम्म १६ हजार ५०८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार विश्वभर ३ लाख ७८ हजार ६७९ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संक्रमित व्यक्तिमध्ये १ लाख ९८५ जना उपचारपछि घर फर्किएका छन् । कोभिड–१९ को संक्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस संक्रमणबाट चीनभरी ३ हजार २७४ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ५०७ जना संक्रमित भएका थिए । संक्रमित मध्ये ७२ हजार ८२२ जनाले उपचारपछि घर फर्किएका छन् ।
इटली बन्यो कोरोनाको इपिसेन्टर
चीनपछि कोरोना भाइरसको इपिसेन्टर बनेको इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो ।
कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीको अवस्था भयावह बनेको छ । चीनमा हालसम्म ३ हजार २ सय ७४ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०३ बढी मानिसको ज्यान गइसकेको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय ८ मानिसको ज्यान गइसकेको छ ।