पोखरामा लकडाउनको दोस्रो दिनः बल्ल बुझ्दै जनता (फोटो फिचर)

-


     मर्दी न्युज    
     १२ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनको दोस्रो दिन पोखरामा अघिल्लो दिनको तुलनामा कम देखिएको छ । भित्री सडकमा केही मात्रमा मोटरसाइकल, स्कुटर गुडेपनि मुल सडकमा गुडेका छैनन् ।

कास्की जिल्ला प्रशासनले मंगलबार साँझ विज्ञप्ति मार्फत कास्की जिल्लावासिहरुलाई “लकडाउन“ सम्बन्धी आदेशको १८ गतेसम्म अनिवार्य पालना गर्ने आग्रह गरेको छ ।

त्यस्तै लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेसँगै कम भएको हो ।

लकडाउनको पहिलो दिन साँझ विज्ञप्ति जारी गर्दै कास्की प्रशासनले कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा जारी गरेको आदेशलाई पालना गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

प्रशासनले १८ गते बिहान ६ बजेसम्म सम्पूर्ण जिल्लाबासिलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको विज्ञप्तिमा जनाएको छ । जिल्लामा स्वास्थ्य सुरक्षा लागायतका अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य निजि तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस अवधिमा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक सामग्रीहरुको निर्वाध रुपमा आपूर्तिको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

प्रशासनले विज्ञप्ति मार्फत अत्यावश्यक सामग्रीहरुको बिक्री वितरण यथावत राख्न सम्पूर्ण व्यवसायीलाई आग्रह गर्दै सर्वसाधारणलाई आफ्नो नजिकको पसल वा स्थानबाट भिडभाड नगरी खरिद गर्न आग्रह समेत गरेको छ । तस्विरः खेम गुरुङ