इटलीमा बुधवार एकैदिन ६८३ को मृत्यु, विश्वरभर ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो

-


     मर्दी न्युज    
     १३ चैत्र २०७६ मा प्रकाशित


तस्विरः एजेन्सी

पोखरा, १३ चैत । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार पनि ६ सय ८३ जनाको ज्यान गएको छ ।

यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०३ पुगेको छ ।
बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३८६ पुगेको छ । ९ हजार ३६२ जना निको भएर घर फर्केको जोन्स् हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको ज्यान गइसकेको छ ।

त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितबाट ज्यान गुमाउनेको संख्या २१ हजार २७६ पुगेको छ । यससँगै ४ लाख ७० हजार ९७३ जना कोभिड–१९ बाट संक्रमित भएको पुष्टी भएको छ भने १ लाख १४ हजार १२ जना निको भएको उक्त विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६८ हजार ९६० पुगेको छ ।

अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै अमेरिकामा समग्र ज्यान गुमाउनेको संख्या पनि १ हजार ४१ पुगेको छ भने निको हुनेको संख्या ६१६ रहेको छ ।

त्यस्तै इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म ३ हजार ६४७ मानिसले ज्यान गुमाइसकेका छन् भने ४९ हजार ५१५ जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ । निको हुनेमा ५ हजार ३६७ जना रहेको छ ।

त्यस्तै इरानमा पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । इरानमा बिहीबार बिहानसम्म २ हजार ७७ जनाले ज्यान गुमाइसकेको छ भने २१ हजार १७ जनामा यो भाइरसको संक्रमणको पुष्टि भइसकेको छ ।

त्यस्तै जर्मनीमा भाइरस संक्रमितको संख्या ३७ हजार ३२३ जनामा पुष्टि भएको छ भने २०६ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वभर कोरोना भाइरस संक्रमणको संख्या तीब्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।