
पोखरा, १४ चैत । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या चीनमा भन्दा अमेरिकामा धेरै फेला परेका छन् । चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस चीन र युरोपपछि कोभिड–१९ को इपिसेन्टर अमेरिका बनेको छ ।
अमेरिकाभर शुक्रवार बिहानसम्म ८५ हजार ४८६ मानिसमा भाइरसको संक्रमण देखिएको जोन्स् हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनमा भने हालसम्म ८१ हजार ७८२ जनामा मात्र यो संक्रमण भेटिएको जनाइएको छ । यसअनुसार यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा अमेरिकामा ३ हजार ७०४ ले बढी हो ।
यद्यपि, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय ८८ मानिसको भाइरस संक्रमणका कारण ज्यान गएको छ भने चीनमा ३ हजार २ सय ९१ जनाको ज्यान गइसकेको उक्त विश्वविद्यालयले जनाएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । इटलीमा हालसम्म कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट देखापरेको कोरोना भाइरस संक्रमणबाट विश्वभर हालसम्म २४ हजार ५४ जनाको ज्यान गइसकेको छ । विश्वका १९७ देशका ५ लाख ३१ हजार ६८४ जनामा यस भाइरसबाट संक्रमित छन् । विश्वभर हालसम्म १ लाख २२ हजार १९३ मानिस निको भएर घर फर्किसकेको जोन्स् हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
