पोखरा, १५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकास मन्त्री नरदेवि पुनले आकस्मिक रुपमा प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रमा कोरोना भाइरस (कोभिड–१९) को पूर्व तयारी तथा प्रतिकार्यका लागि भइरहेको गतिविधिहरुको निरक्षण गरेका छन् ।
मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा हुनुपर्ने बताउँदै आएका छन् ।
सोही क्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले सूचना संकलन, व्यवस्थापन र सम्प्रेषण गरिरहेको बताए । यसैगरी अस्पताल, स्वास्थ्यकर्मी, हेल्थ डेस्क, ज्वरो क्लिनिक, क्वारेन्टाइन स्थललगायतसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जानकारी दिए ।
गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमित देखापरिसकेको अवस्थामा द्रुत प्रतिकार्य टोली परिचालन, ‘कन्ट्क्ट ट्रेसिङ’ लगायतका कार्य शुरुवात भइसकेको स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माद्वारा हस्ताक्षरित गतिविधिमा जनाइएको छ ।