कोराना भाईरस संक्रमणबाट विश्वभर २८ हजार ७०० बढीको मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०७६ मा प्रकाशित


पोखरा, १५ चैत । विश्वभर फैलिएको कोराना भाईरस (कोभिड–१९) का कारण मृत्यु हुनेको सख्यां २८ हजार ७०० नाघेको छ । यस्तै संक्रमितको सख्ंया ६ लाख १५ हजार ५१९ पुुगेको छ । संक्रमितमध्ये १ लाख ३५ हजार ७३५ मानिस निको भएर घर फर्केका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

चीनको हुवेई प्रान्तको वुहान सहरबाट शुरु भएको कोभिड–१९ बाट अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् । यस भाईरसका कारण अमेरिकामा मर्नेको सख्या १७ सय ११ पुुगेको छ भने सक्रमितको सख्या १ लाख ४ हजार नाघिसकेको छ । संक्रमितको सख्ंया बढ्ने क्रम जारी रहेपछि अमेरिकाका चिकित्सकहरुले चिकित्सकीय सामानहरुको अभाव भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसैगरी, ईटलीमा कोरोना भाईरसका कारण एकैदिन मृत्युु हुनेको सख्ंया ९१९ पुुगेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको विश्लेषकहरुको भनाई छ । हालसम्म कोरोना भाईरसका कारण ईटलीमा सबैभन्दा बढी ९ हजार १३४ को मृत्यु भईसकेको छ । यस भाइरसका संक्रमित संख्या ८६ हजार ४९८ पुगेको छ ।

उता स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको खबर छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो । शनिबार मध्यान्हसम्म ५ हजार ६ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

स्पेनमा कुल संक्रमितको संख्या ७२ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १८९ नयाँ संक्रमित थपिएका छन् । स्पेनमा हालसम्म चार जना नेपालीहरुलाई संक्रमण देखिएको सञ्चारमाध्यमले जनाएको छ । स्पेनमा झण्डै १० हजार नेपाली रहेको अनुमान गरिएको छ ।

उता, संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएको राष्ट्रसघंले जनाएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार संक्रमितमध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि संक्रमित भएका छन् ।
एजेन्सीको सहयोगमा