दिल्ली छोडेर गाउँ फर्किनेको हुल, यथास्थानमा बस्न मुख्यमन्त्री केजरीवालको आग्रह

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०७६ मा प्रकाशित


एजेन्सी । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भीड अत्याधिक र लामो रहेको छ ।

सरकारले भिडभाडबाट कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बिस्तार हुन सक्ने भन्दै लकडाउन गरे पनि जीविका चलाउन समस्या हुने भन्दै हुलका हुल मानिसहरु दिल्लीबाट बाहिरिएका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै भनेको छन्, ‘केही मानिसहरु गाउँ जानका लागि आतुर छन । प्रधानमन्त्री जीले सबैसँग अपिल गर्नु भएको छ कि सबै यथास्थानमामा बसौँ । म पनि तपाईँहरु सबैसँग अपिल गर्छु कि जहाँ हुनुहुन्छ त्यहिँ बस्नु होस् । यस्तो भिडमा हिँड्दा तपाईँलाई पनि कोरोना भाइरसको संक्रमण हुन सक्छ । तपाईँको माध्यमबाट कोरोना भाइरस तपाईँको गाउँ र परिवारसम्म पुग्छ । देशका विभिन्न भागमा पुग्छ । त्यसपछि यो महामारीबाट बच्न मुश्किल हुनेछ ।’