‘उपकरण खरिदमा अनियमितता भएको छैन’

-


     मर्दी न्युज    
     १६ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो लट आइतबार राति काठमाडौं ल्याएको छ । तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ । यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ ।

स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको बताए ।

‘हामीले टेण्डर खोल्यौं । कसैले पनि सामान दिनसक्ने अवस्था रहेन । त्यसपछि हामीले स्वास्थ्य मन्त्रालयमा सामान आपूर्ति गर्ने सबै व्यापारीलाई बोलाएर जोसँग जति सामान छ त्यो व्यवस्था गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘हामीले आफैं विमान पठाएर सामान ल्याइदिन्छौं भन्दा दुईजनाले मात्रै सामान दिनसक्ने बताउनुभयो । त्यसपछि हामीले नेगोसियसन गरेर सहमति गरेका हौं ।’

‘केही महंगो भएको हुनसक्छ,’ उनले भने, ‘संसारभर अभाव रहेको छ, यस्तो बेला सामान्य अवस्थाको मूल्यमा पाइदैन् ।’

उनले स्वास्थ्य सेवा विभागले खरिद गरेको र खरिद गर्ने सम्पूर्ण सामाग्रीहरुको विवरण वेबसाइटमा राखिने पनि जानकारी दिए । ‘हामीले खरिद गरेको सम्पूर्ण सामाग्रीको विवरण अनलाइनमा हुन्छ । त्यसैले अनियमितता होला भन्ने नसोच्न आग्रह गर्छु,’ उनले भने ।

उनले पहिलो लटमा खरिद गरिएका सामान र चीन सरकार तथा अन्य दाताबाट सहयोग प्राप्त सामान आइपुगेको जानकारी दिए ।