सरुवारोग विज्ञ डा। एन्थोनी फाउची (बायाँ) राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना सदस्य हुन् । तस्विरः बीबीसी
एजेन्सी । अमेरिकामा नोभेल कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई लाख पुग्नसक्ने चेतावनी दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको कोरोना भाइरस कार्यदलका एक उच्च अधिकारी तथा सरुवारोग विशेषज्ञ डा. एन्थोनी फाउकीले कोरोना भाइरसका कारण दुई लाख अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका हुन् ।
अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै संख्यामा १ लाख ४३ हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका संक्रमितहरू छन् । उनले १०औं लाख मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने चेतावनीसमेत दिएका थिए । डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या एकदेखि दुई लाख हुनसक्ने’ सिएनएनलाई बताएका थिए । डाक्टर फाउचीले भने– ‘न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, न्यूअर्लेन्समा गम्भीर समस्या छ र अन्य ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन ।’
फाउकीको यस्तो चेतावनीपछि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धात्मक पूर्वसवाधानीहरु अप्रिल ३० सम्म लम्बिने बताएका छन् ।
सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउनेबारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन, ‘अबको दुई सातामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । त्यसैले हामीले संक्रमण रोकथामका उपायहरु बढाउने तयारी गरेका छौँ ।’
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि जित हात पार्ने एक मात्र उपाय ‘सामाजिक दूरी’ भएको बताएका हुन् । यसअघि उनले इस्टर अर्थात अप्रिल १२ देखि देशका केही क्षेत्र खुला गर्ने बताएका थिए । अमेरिकामा अहिलेसम्म २ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्वभर हाल सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुकमा अमेरिका पर्छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी १० हजारभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । – एजेन्सीको सहयोगमा