चिकित्सा सामग्री खरिद गर्न सेनालाई दिने प्रस्ताव

-


     मर्दी न्युज    
     चैत्र २० गते २०७६ मा प्रकाशित


काठमाडौं । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई तयारी गरेको छ । स्वास्थ्य उपकरण ल्याउने क्रममा अनियमितता भएपछि सरकारले सेनालाई दिने तयारी गरेको हो ।

बुधबार ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बिहीबार तीन दिनको समय दिएर टेण्डर आह्वान गर्ने बताएका थिए । तर सरकारले त्यसलाई रोकेको छ । ‘जीटूजी (सरकारबाट सरकारले)मार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज टेण्डर आह्वान भएन’ महानिर्देशक श्रेष्ठले भने ।

उनले अबको बाँकी खरिद सेनाले गर्ने भन्ने जानकारी आफूले बिहीबार बिहानमात्रै पाएको स्पष्ट पारे । ‘मलाई पनि धेरै थाह छैन । सेनाले खरिद गर्ने भएको छ भनेपछि हामीले सेनासँग के के सामान चाहिन्छ भनेर छलफल अगाडि बढाएका छौं ।’

सम्भवतः यसबारे अन्तिम निर्णय भने आज बस्ने कोरोना क्राइसिस म्यानेजमेन्ट टिमको बैठकले अन्तिम निर्णय गर्ने स्रोतले बतायो ।