‘नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा’

-


     मर्दी न्युज    
     २२ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २२ चैत । सरकारले सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको भन्दै सबैलाई घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन पुनः आग्रह गरेको छ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए ।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन् ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताएका हुन् । प्रवक्ता डा. देवकोटाले कोरोना संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले पनि आग्रह गरेको छ ।