
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न सेनाले पाँच मुलुक छनोट गरेर परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो ।
सरकारले चीन सहित भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको हो । सबै दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
सरकारले सेनालाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरेर ल्याउन निर्देशन दिएको थियो । सेनाले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले तयार पारेको सूचीका आधारमा औषधि खरिद प्रक्रिया अघि बढाएको हो ।