
पोखरा २७ चैत । पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा क्वारेन्टाइनमा रहेका १६ जना घर फर्किएका छन् ।
उनीहरुलाई १४ दिनको क्वारेन्टाइन बसाईपछि बुधबार विदाई गरिएको हो । क्वारेन्टाइनमा रहँदा उनीहरुमा कोभिड–१९ को कुनैपनि लक्षण नदेखिएको र मंगलबार गरिएको नमुना परीक्षणको नतिजा समेत नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गराए ।
यो सँगै पोखरामा अब क्वारेन्टाइनमा कोहि नरहेको निर्देशक डा. शर्माले जनाए ।
कतार एयरवेजबाट तथा विभिन्न देश र भारतबाट पूर्वी नाका इटहरी हुँदै गाडीमा पोखरा आएकाहरुलाई सम्भावित संक्रमणको परीक्षण गर्न र जोखिम न्यूनीकरण गर्न क्वारेन्टाइनमा राखिएको थियो ।