
पोखरा, २७ चैत । कोरोना भाइरस संक्रमित बागलुङकी १९ वर्षीय युवतीसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोनमा कुराकानी गरेका छन् । मुख्यमन्त्री गुरुङले बिहीवार दिउँसो टेलिफोन गर्दै युवतीको स्वास्थ्यअवस्था बुझ्नुका साथै विभिन्न सल्लाह पनि दिए ।
मुख्यमन्त्री गुरुङले चिकित्सकद्वारा राम्रो उपचार भएनभएको बारे पनि कुराकानी गरेका छन् । उनले बढीभन्दा बढी पानी पिउन आग्रह गर्दै रोग छिट्टै सञ्चो हुने र निको भएपछि मात्रै घर फर्किने सुझाव दिएका छन् ।
संक्रमण देखिएकी १९ वर्षीया युवती धौलागिरी अस्पतालमा उपचाररत छिन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई गत १५ गते कोरोना पुष्टि भएको थियो ।