
पोखरा, ६ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजकसमेत रहेका डा. शेरबहादुर पुनको बारेमा मन्त्रालयले काटेको पत्रबारे सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरेको प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिवार साँझ जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको आधारिक फेसबुकमार्फत जारी सूचनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाएकोमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्यतथ्य बङ्ग्याई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको नाम मुछि अनर्गल तथा दुष्प्रयास गर्ने कार्य भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘कोभिड–१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छ । यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ’– उक्त सूचनामा भनिएको छ ।
मिडियामा अभिव्यक्ति दिएको भन्दै शुक्रबार मन्त्रालयले पत्र लेख्दै उनीसँग स्पष्टिकरण सोधिएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो भने स्पष्टिकरणको लागि पत्र पठाएकोबारे सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध गरेका थिए ।
